२०८३ असोज १ गते बिहिवार | 2026 September 17th Thursday

सल्यानका तत्कालीन डिएसपी केसीलाई वन मुद्दामा अनुसन्धान गर्न अख्तियारको निर्देशन

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र रहेका पीपलका रुख अनुमति नलिई मनपरी ढंगले काटेको अभियोगमा तत्कालीन प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर केसीमाथि डिभिजन वन कार्यालय सल्यानले औपचारिक अनुसन्धान सुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्पष्ट निर्देशनपछि वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर केसीसँग साविकी बयान लिने काम समेत अघि बढाएको छ।
​अख्तियारमा परेको उजुरीका आधारमा आयोगले वन ऐन अनुसार छानबिन गरी कारबाही गर्न जिल्ला वन कार्यालयलाई पत्र पठाएको थियो।

सोही पत्रका आधारमा डिभिजन वन कार्यालयका प्रमुख टेकबहादुर रावल र अनुसन्धान अधिकृत ललितजंग खड्काको टोलीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। आरोपीहरूसँग बयान लिने काम भइरहेको र अनुसन्धानको निष्कर्षपछि दोषी ठहरिए कानुन बमोजिम कारबाही गरिने वन कार्यालयले जनाएको छ।

घटना विवरण अनुसार, २०८२ सालको चैत सुरुवातातर्फ जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पीपलका रुखहरू डिएसपी केसीको निर्देशनमा बिना अनुमति काटिएका थिए। रुख कटानको स्थानीयस्तरमा व्यापक विरोध भएपछि वन कार्यालयले त्यतिबेलै अनुसन्धान गर्न खोजेको थियो। तर, तत्कालीन डिएसपी केसीले आफ्नो शक्तिको प्रयोग गरी प्रहरी टोली खटाएर वनका कर्मचारीलाई कार्यालय प्रवेशमै रोक लगाएका थिए। वन कार्यालयले प्रयास गर्दा पनि अनुसन्धानमा बाधा पुगेपछि केसीविरुद्ध स्थानीयले अख्तियारमा उजुरी दिएका थिए।

सामुदायिक क्षेत्रमा अवैध रुख कटान रोक्ने जिम्मेवारीमा रहेका प्रहरी प्रमुख आफैं अवैध कटानमा संलग्न रहेको पुष्टि भएपछि यो विषय चर्चामा आएको हो। सल्यानबाट सरुवा भएका डिएसपी केसी हाल दाङ प्रहरी प्रवक्ताका रूपमा कार्यरत छन्।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस