२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

कर्णालीमा असारे विकास अन्त्य गरिनेछ : मुख्यमन्त्री कँडेल

सल्यान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले असार महिनाकाे चापमा हुने असारे विकासलाइ अन्त्य गर्न लागिपरेकाे बताएका छन् । अरु बेला सुनसान हुने र आर्थिक वर्षकाे अन्त्यमा कामकाे चाप हुने गरी गरिने विकासलाइ अन्त्य गर्न अहिलेदेखि नै आफुहरु लागिरहेकाे उनले बताए ।

बिहीबार सल्यानकाे खलंगामा नेपाल पत्रकार महासंघ सल्यान शाखाले गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै मुख्यमन्त्री कँडेलले प्रदेश मातहातका कार्यालयहरुलाइ चालु आर्थिक वर्षका कामहरु अहिलेदेखि नै प्रकृयामा सुरु गर्न निर्देशन दिइएकाे बताए । विकासे बजेटका याेजनाहरु कार्यन्वयन गर्न धेरैजसाे कार्यालयहरुले ठेक्का प्रकृयामा गइसकेकाे र केहि लगतै जाने उनले बताए ।

‘असार अगाडी नै बजेट कार्यन्वयन गरिसक्न अहिले देखिनै हामी तयारी अवस्थामा काम गरिहरकाे छाैं ।’, उनले भने ‘ स्थानीय तहमा पनि त्यहि छिटाे काम गराउन सबैकाे सहयाेग चाहिन्छ ।’

सत्तापक्ष र प्रतिपक्षी सबै दल हातेमालो गर्दै अगाडि बढे मात्रै कर्णालीको विकास सम्भव हुने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । दलीय भेटघाट तथा जिल्लाको अवस्था बुझ्न अहिले विभिन्न जिल्लाहरुमा गएकाे र त्यहि क्रममा सल्यान आएकाे उनले बताए ।

बजेट बनाउने बेला आफु माओवादी पार्टीकाे समर्थनमा मुख्यमन्त्री रहेकाेमा अहिले गठबन्धन फेरिएपनि त्यतिबेला बनाएको नीति तथा कार्यक्रम योजना, बजेटलाई निरन्तरता दिएको उनले जानकारी गराए । ‘सबै दल एक भएर हिँडे मात्र प्रदेशको बजेट विनियोजन तथा विकासको काम प्रभावकारी हुनेछ,’ उनले भने ।

विभिन्न कार्यालयले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिइरहेको गुनासो बढेकाले अतिरिक्त शुल्क तिर्नुपर्ने परिपाटीको अन्त्य गर्न सम्बन्धित कार्यालयलाई मुख्यमन्त्री कँडेलले निर्देशन समेत दिएकाे बताए । कसैले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा तुरुन्तै कारबाही गरिने समेत उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ सल्यान शाखाका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेल सहित एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष ओज बहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय कोषाध्यक्ष सुर्यमणी गौतम लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमको सहजिकरणा सचिव दिपसागर भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस