अमेरिकी सहायतामा सञ्चालित एम.सी.सी., यू.एस.ए.आई.डी.लगायत परियोजनाहरु अन्योलमा
काठमान्डौं, २५ फागुन । अमेरिकी सहायतामा सञ्चालनमा आएर अहिले रोकिएका परियोजना अन्योलग्रस्त बनेका छन् । ९० दिनका लागि अमेरिकी सरकारले एम.सी.सी., यू.एस.ए.आई.डी.लगायत परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा रोकिएको छ ।
एम.सी.सी.मार्फत अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान स्वरूप उपलब्ध गराउने योजना रहेको थियो । नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा १३ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने व्यवस्था थियो ।
यू.एस.ए.आई.डी.मार्फत पनि अमेरिकी सरकारले नेपाललाई ठूलो सहायता गरिरहेको थियो । नेपालको स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीति सम्बन्धी चार ठूला परियोजनामा लगानी रहेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी विदेश मन्त्रालय र यू.एस.ए.आई.डी.मार्फत प्रवाह गरिने सबै विदेशी सहायता ९० दिनका लागि रोक्का गर्ने निर्णय गरे लगत्तै सञ्चालित परियोजना अहिले ठप्प भएका छन् । सरकारले अहिलेसम्म वैकल्पिक स्रोत खोज्ने प्रयास गरेको छैन । अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले अहिले पर्ख र हेरकै अवस्थामा रहेको बताउनुभयो ।