२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

युरोपियन युनियनका राजदूत र प्रधानमन्त्रीबीच शिष्टाचार भेट

काठमाण्डौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्माओलीले युरोपियन युनियनको प्रतिनिधिमण्डलसँग आज शिष्टाचार भेट गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति थियो ।

यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् । भेटका अवसरमा नेपाल र युरोपियन युनियनबिचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराउनु भएको छ । उहाँले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठुला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी  सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गर्नु भएको छ  । उहाँले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट पार्नु भएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस