नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दै
काठमान्डौं, २१ जेठ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बिहीबार हङकङ विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । ए.एफ.सी. एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलअघि नेपालले हङकङ विरुद्ध खेल्न लागेको हो । खेल हङकङको नेसनल स्टेडियममा भोलि साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेल र समग्रमा तेस्रो खेल खेल्न लागेको हो । उहाँको प्रशिक्षणमा नेपालले यसअघि खेलेका दुई खेलमा मिश्रित नतिजा निकालेको छ । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा ऐतिहासिक जित हात पारेको नेपाल एसियन कप छनोटमा भने मलेसियासँग पराजित भएको थियो ।
रोस नेपालको प्रशिक्षक बनेपछि नेपालले छोटो समयकै तयारीमा यसअघि दुई खेल खेल्नुपरेको थियो । तर यसपटक नेपालले लामो समयको तयारी गर्दै दुई खेल खेल्न हङकङ पुगिसकेको छ । हङकङसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट एसियन कप छनोट खेल्न लाओस जानेछ । यसअघि दुई खेल खेल्दाको कमजोरी सुधार गर्दै हङकङ र लाओस विरुद्ध जितकै लागि खेल्ने प्रशिक्षक रोस र कप्तान किरण चेम्जोङले बताउनु भयो ।