२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाण्डौँ आउँदै

काठमाण्डौैँ, २५ जेठ । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाण्डौँ आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाण्डौँ फर्काइदिएको छ । नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज काठमाण्डौँ आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताउनु भएको छ । अध्यागमन स्रोतका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस