२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

खोप सेवाको पहुँचमा छत्रेश्वरी गाउँपालिका सल्यान जिल्लाकै प्रथम

सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिका खोपको सेवा पहुँचमा जिल्लामै पहिलो हुन सपफल भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार नियमित खोप कार्यक्रम अन्तर्गत १५ महिनामुनिका बालबालिकामध्ये ९० प्रतिशतभन्दा बढीले सम्पूर्ण खोप प्राप्त गरेको प्रगतिका आधारमा छत्रेश्वरी पहिलो स्थानमा आउन सफल भएको हो । खोप कभरेजमा त्रिवेणी गाउँपालिका दोश्रो स्थानमा रहेको छ ।

छत्रेश्वरी गाउँपालिकामालाई मंगलबार नै एक कार्यक्रमकाविच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सातवटै वडामा गरेर जन्मेदेखि १५ महिनामुनिका ३३६ जना बालबालिकाले नियमित खोप पाइरहेको र १६ महिना देखि २३ महिनासम्मका ३३३ जना बालवालिकाले पूर्ण खोप पाएकाले खोप समन्वय समिति सल्याले प्रमाणपत्र प्रदान गर्दै छत्रेश्वरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर अर्जुन कुमार बुढाले गाउँपालिकालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनप्रतिनिधीसंगै स्वास्थ्यकर्मीहरूको समर्पण, महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियता र समुदायको निरन्तर साथले गर्दा पालिकाले यो उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बनाउँछु मेरो छत्रेश्वरी भन्ने अभियानका साथ हामी पालिकाको समग्र विकासमा हातेमालो गर्दै अघि बढिरहेका छौँ । अब हामीले यस उपलब्धिलाई कायम राख्दै अझ दिगो बनाउने योजना बनाएका छौँ ।” यस्तै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खोप संगै पालिकाले पूर्ण सरसफाई अभियानलाई पनि प्राथमिकतासाथ अगाडी बढाइरहेको बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर बुढाले नियमित खोप कार्यक्रमले संक्रामक रोगहरूलाई निवारण गर्न मात्र नभई बाल मृत्युदर घटाउन र समग्र बालस्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस्तै जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप फोकल पर्सन तारा रिजालले विगतमा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट मात्रै घरधुरी सर्वेक्षण हुनेगरेकोमा यसपटक स्वास्थयकर्मीहरुबाट नै गत माघ देखि चैतसम्म खोप सेवाको लागि घरदैलोमा गएको भन्दै छुट भएका बालवालिकालाई गत बैशाखमा खोप लगाइएको बताउनुभयो । “देशभरको तथ्यांक हेर्ने हो भने, अझै पनि चार प्रतिशत बालवालिकाले पूर्ण रुपमा खोप नपाएको र १६ प्रतिशतले कुनै न कुनै खोप नपाएको स्थिति छ । सल्यानमा पनि १५ जना बालवालिका छुटेका थिए । खोजी गरेर खोपको पहुँचमा ल्याएका छौँ,” उहाँले भन्नुभयो ।

घोषणा कार्यक्रममा वडा नं २ का वडाध्यक्ष प्रेम बहादुर नेपाली, ४ का वडाध्यक्ष छविलाल खत्री, वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढा लगाएतले बोल्दै खोप कार्यक्रमलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । सो अवसरमा खोप कार्यक्रममा योगदान पुर्याएको भन्दै सातवटै वडालाई सम्मान गरिएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस