इजरायलबाट नेपाल फर्कनका लागि ८ सय ८५ जनाले नाम टिपाए
काठमान्डौं, ९ असार । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कनका लागि ८ सय ८५ जनाले नाम टिपाएको बताउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी दिनुभएको हो । सरकारले इजरायल–इरानबिच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल मार्फत विवरण लिन सुरू गरेको थियो ।
उहाँले इजरायल–इरानबिच उत्पन्न युद्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताउनु भयो । सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाले बताउनु भयो । उहाँले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि जानकारी दिनु भयो ।