२०८३ असार ५ गते शुक्रवार | 2026 June 19th Friday

सल्यानमा दुग्ध व्यवसाय सम्बन्धी तीनदिने तालिम सम्पन्न

सल्यान ।

सल्यानमा दुग्ध व्यवसायमा संलग्न किसान तथा व्यवसायीलाई लक्षित गर्दै तीनदिने तालिम सम्पन्न भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा असार ९ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न स्थानबाट आएका १५ जना भन्दा बढी दुग्ध उत्पादक कृषक तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

तालिममा सहभागीहरूले दूधबाट विभिन्न परिकारहरू बनाउने सीप सिकेका छन्। उनीहरूले छुर्पी, खुवा, दही, घिउ, पनीर, छेना लगायतका परिकारहरू बनाउन व्यवहारिक रूपमा अभ्यास गरेका थिए। तालिममा दूध प्रशोधन, सरसफाइ, पोषण मूल्य, र उत्पादनलाई बजारमा कसरी पुर्‍याउने भन्ने विषयमा समेत जानकारी दिइएको थियो।

कार्यक्रमको समापन समारोहमा बोल्दै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द बहादुर महतले सहभागीहरूले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे। उनले यस किसिमका तालिमहरूले दुग्ध व्यवसायलाई व्यवसायिक रूपमा विस्तार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे।

यस्तो तालिमले दुग्ध उत्पादक किसानहरूलाई आफ्नो उत्पादनलाई नयाँ ढंगबाट बजारमा लैजान सहयोग पुग्नेछ र आम्दानी बढाउन मद्दत गर्ने उनकाे भनाइ थियाे ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस