ए.सी.सी. १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा नेपाल बन्यो समूह विजेता
काठमान्डौं, १७ असार । ए.सी.सी. १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ ।मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २ सय ९८ रनले हराएको हो । नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भूटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनाएको थियो । भूटानका शेजाङ दावाले सबैभन्दा धेरै १४ रन बनाएका थिए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २÷२ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो । नेपालका रौनक श्रीवास्तवले शतक बनाएका थिए । श्रीवास्तव १ सय ३२ बलमा कीर्तिमानी १ सय ६८ रन बनाएर आउट भएका थिए । कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितमा नेपाली खेलाडीले बनाएको यो उच्च व्यक्तिगत रन हो ।
नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा नेपालले मलेशियासँग र हङकङले सिङ्गापुरसँग खेल्नेछ ।