बरला कृषि बहुउद्देश्य सहकारीको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न
सल्यान ।
बरला कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शारदा नगरपालिका–६ वरला, सल्यानको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ।
साधारण सभामा सहकारी संस्थाकी कार्यसमिति कोषाध्यक्ष अस्मिता यरी राणाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कुल पुँजी ४ करोड ९१ लाख ५५ हजार ९ सय २९ रुपैयाँ ७२ पैसा रहेको जानकारी गराउनुभयो। साथै, २ करोड ८५ लाख ७२ हजार १ सय ८५ रुपैयाँ ऋण लगानी रहेको विवरण सार्वजनिक गर्नुभयो।
कार्यक्रम सहकारी संस्थाका कार्यसमिति अध्यक्ष रिमलाल भण्डारीको अध्यक्षतामा तथा शारदा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मानबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सभामा वक्ताहरूले सहकारी भनेको आफ्नै घरआँगनको बैंक भएको उल्लेख गर्दै शेयर सदस्यहरूलाई ढुक्कसँग बचत गर्न आग्रह गरे। सहकारी समुदायकै संस्था भएकाले लगानी गरिएको रकम सुरक्षित रहने, आवश्यक परेको बेला सजिलै निकासी गर्न सकिने तथा बैंक जस्तो झन्झट नहुनेमा उनीहरूको जोड थियो।
वक्ताहरूले समुदाय तथा व्यक्तिको आवश्यकता अनुसार सहकारीले पर्याप्त मात्रामा ऋण लगानी गर्नुपर्ने र ऋणीहरूले पनि समयमै ऋण फिर्ता गर्नुपर्नेमा जोड दिए। साथै, कृषि बहुउद्देश्य सहकारी भएकाले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरू ल्याउनुपर्ने सुझावसमेत दिएका थिए।
कार्यक्रममा कृषि जोन एकाइ सल्यानका किशोर थारु, कजेरी बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सचिव धनिराम खत्री, सौभाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्षहरू टोपबहादुर केसी, लिलाधर नेपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
अधिवेशनले डम्बर सिंह तिरुवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा छविलाल खत्री, सचिवमा गोपाल भण्डारी र कोषाध्यक्षमा अस्मिता यरी राणा चयन हुनुभएको छ। सदस्यहरूमा छवि बस्नेत, निर्मला बुढाथोकी, सुशिला हमाल, प्रमोद भण्डारी, गंगाराम यरी, रञ्जना भण्डारी र प्रेम खत्री रहनुभएको छ।
यस्तै, लेखा समिति संयोजकमा जंगबहादुर भण्डारी तथा सदस्यहरू कविता राणा र जितबहादुर विष्ट चयन भएका छन्। ऋण समिति संयोजक छविलाल खत्री, सदस्यहरू तोला केसी र प्रदीप ओली चयन भएका छन्। शिक्षा समिति संयोजक टोपबहादुर खत्री, सदस्यहरू शोभा भण्डारी र गोपाल शर्मा रहेका छन् भने कृषि समिति संयोजक धनिराम कँवर तथा सदस्यहरू मानबहादुर वन गिरी र हुर्मत खत्री रहेका छन्।
सल्लाहकारहरूमा रिमलाल भण्डारी, मानबहादुर भण्डारी र गोविन्द खत्री रहनुभएको छ।
कार्यक्रममा ऋण समिति संयोजक टोपेन्द्रप्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव डम्बर सिंह तिरुवाले गर्नुभएको थियो। सहकारी संस्थामा हाल करिब ७ सय ५० जना शेयर सदस्य आबद्ध रहेका छन्।
