त्रिवेणी गाउँपालिकाकाे चिनारी
त्रिवेणी गाउँपालिकाकाे परिचय
त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८ डिग्री १४’ देखि २८ डिग्री २०’ उत्तरी आक्षांश र ८२ डिग्री ०८’०ं देखि ८२ डिग्री २०’ पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । ११९.११ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको त्रिवेणी गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ । सङ्घीय संरचनाअनुसार त्रिवेणी गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । साविकका काभ्रा, काँरागिठी, फलाबाङ र त्रिवेणी गाविस समेटेर २०७३ साल फगुन २२ गते त्रिवेणी गाउँपालिका स्थापना भएको हो । यो गाउँपालिका समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ ।

यस गाउँपालिकाको नामकरण शारदा खोला, लुहाम खोला र घुर खोलाको सङ्गमस्थल त्रिवेणी भएकाले नै त्रिवेणी गाउँपालिका रहन गएको हो । तीन खोलाको सङ्गमस्थल त्रिवेणीमा लुहाम पञ्चेश्वर मन्दिरसमेत रहेको छ । यो मन्दिर त्रिवेणी गाउँपालिकाको प्रमुख धार्मिकस्थलको रूपमा रहेको छ । यहाँ विशेष गरी शिव, पार्वती र राधा कृष्ण भवानीको पूजा गर्ने गरिन्छ । यहाँ पञ्चेश्वर मन्दिर र राधाकृष्ण मन्दिर रहेका छन् । यहाँ यज्ञशाला, आश्रम र धर्मशालासमेत निर्माण गरिएको छ ।
यस मन्दिरमा विशेष गरी तीज, कृष्ण जन्माष्टमी र शिव रात्रीमा पूजा गरिन्छ, जहाँ भव्य मेलासमेत लाग्ने गर्दछ । यस मन्दिरमा सल्यान जिल्लाबाट र छिमेकी जिल्लाहरूबाट पनि भक्तजनहरू आउने गरेको पाइन्छ । यस मन्दिर व्यवस्थापन समितिले पुजारी राखी नियमित पूजा गर्ने गरेको पाइन्छ । गाउँपालिकाको प्रमुख धार्मिकस्थलको रूपमा रहेको यस मन्दिरको राम्रो संरक्षण गरी आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षणस्थल बनाउन आवश्यक रहेको छ ।

शारदाको मनमोहक फाँट यहाँ पनि रहेको छ । साथै, त्रिवेणीको लुहाम बजार घुम्न र त्रिवेणीधामको दर्शन गर्न सकिन्छ । दाङ तथा सल्यानको सिमाना थर्कोटका काला काफलका साथ यस क्षेत्रमा वसन्त ऋतुमा आकर्षक रूपमा अवलोकन भ्रमण गर्न सकिन्छ । साथै, पुराना कला संस्कृतिहरू सोरठी नाचजस्ता संस्कृतिमा रमाउन सकिन्छ । सल्यान जिल्लामा अहिले पनि पुख्र्यौली राजाका पालाको फलाबाङ दरबार हेर्न र अवलोकन गर्न सकिन्छ ।

फलाबाङ दरबार
फलाबाङ दरबार सल्यानी राजाको अन्तिम अवशेष फलाबाङ दरबार क्षेत्रको आफ्नै ऐतिहासिक महत्व रहेको छ । चारैतिर पहाडले घेरिएको यो सुन्दर ठाउँ राप्ती राजमार्गमा रहेको लुहाम बजारदेखि दक्षिण दिशातिरको पहाडको टुप्पोमा अवस्थित रावत गाउँमा रहेको छ । नेपालको एकीकरणभन्दा पहिले तेजबहादुर शाहलाई वि.सं. १८८४ मा फलाबाङ थुम र पश्चिम दाङको भूमिसहित राजा पदवी दिइयो र नजरबन्दबाट मुक्त गरिएको थियो । सल्यानी राजपरिवार फलाबाङको थान गाउँमा वि.सं. १८४५ मा निर्मित राजदरबारमा आइबस्न थाले, जुन त्यसअघि दङ्गाली राजाद्वारा निर्मित पुरानो दरबार भनिन्छ ।

त्यस स्थानमा दङ्गाली त्रिवेणी गाउँपालिकाको गाउँ पाश्र्वचित्र, २०७५ घज्ञ राजा मणि शाक्यका छोरा रत्न परीक्षकद्वारा निर्मित रत्ननाथ मन्दिरसमेत रहेको छ । यस मन्दिरमा विजयादशमीमा नवदुर्गाको पूजापाठ र कोटमा बलिपूजा गरिन्छ ।

यस दरबारमा वि.सं. १९०५ मा नरेन्द्रबहादुर शाहले शासन गरेका थिए । वि.सं. १९५७ देखि १९६९ सम्म शम्शेरबहादुर शाहले शासन गरेका थिए । त्यस समय नरेन्द्रबहादुर शाहले नयाँ दरबारको निर्माण गरेका थिए, जसलाई पुतली दरबारको नामले चिनिन्थ्यो । सो दरबारमा ५५ कोठा र १०८ झ्याल रहेका थिए । उनले वि.सं. १९६१ मा श्रीकालिकादेवी र शिवालयसमेत निर्माण गरेका थिए । उनको समयमा यस गाउँमा बाटोघाटो निर्माण, पिउने पानी र सिँचाईका लागि बाँधकुलो निर्माण गर्ने काम पनि गरेका थिए । उनको पालामा यस गाउँमा भाषा, पाठशाला र आयुर्वेदिक औषधालयको पनि निर्माण भएको थियो ।

वि.सं. १९९५ मा उनले राज्याधिकार त्याग गरी जेठा छोरा गेहेन्द्रबहादुर शाहलाई सुम्पिएका थिए । गेहेन्द्रबहादुर शाह नेपालका तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरका ज्वाइँ थिए । वि.सं २०१७ सालमा सल्यानी राजाका सन्तान दरसन्तानले सल्यानी राजा पदवी र वार्षिक २४ हजार रूपैयाँ पाउने गरी राज्य उन्मूलन गरियो । त्यसपछि त्यस दरबारको रेखदेख स्थानीय रुद्रवीर रावतले गर्न थाले । त्यसपछि स्थानीय भीमबहादुर बिष्टले दरबारको रेखदेख गर्न थाले । दरबार रेखदेख गर्नेले भोगचलन गर्ने गरेको जग्गाको विवादका कारण भीमबहादुर बिष्टले पनि रेखदेख गर्न छोडेपछि दरबारको मूलढोकामा भोटेताल्चा झुन्ड्याइएको थियो ।

स्थानीयहरूको भनाइअनुसार वि.सं. २०५२ सालमा शैक्षिक भ्रमण आएका विद्यार्थीहरूले ताल्चा फोरेर दरबार अवलोकन गरेका थिए । त्यसपछि यो दरबार पूर्ण रूपमा खुला र बेवारिसे हुन पुग्यो । त्यसपछि यहाँका सरसामान विस्तारै चोरी हुन थाले । यसरी सल्यानी इतिहासको पछिल्लो अध्ययनको प्रतीक फलाबाङ दरबार अहिले अस्थिपञ्जरमा परिणत भएको छ । यसको संरक्षण र पुनर्निर्माण हुन सकेमा यो स्थान सल्यान जिल्लाकै प्रमुख ऐतिहासिक र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिनेछ । यसको लागि यहाँको स्थानीय निकाय र जनता स्वयम्ले पहल गर्नुपर्ने देखिन्छ ।

त्रिवेणी गाउँपालिकाको यो माटो इतिहासमा मात्र होइन, अध्यात्म र प्रकृतिमा पनि उत्तिकै धनी छ। शारदा नदीको पावन तटमा रहेको त्रिवेणी धामको धार्मिक महिमा र थर्कोट लेकको शीतल उचाइले यो क्षेत्रलाई पर्यटकीय रूपमा जीवन्त बनाएका छन्।
