अल्जेरियाको रङ्गशालामा स्ट्यान्डबाट खसेर तीन जनाको ज्यान गयो
काठमान्डौं, ९ असार । अल्जेरियामा रङ्गशालाको माथिल्लो स्ट्यान्डबाट खसेर तीन जनाको ज्यान गएको छ । स्थानीय फुटबल टोली एम.सी. अल्जरले लिगको उपाधि जितेको अन्तिम सिटी बजेपछि उत्सवको तयारीमा रहेका प्रशंसकहरू स्ट्यान्डबाट खसेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयले तीन वटा अस्पतालमा ७० जनाभन्दा धेरैको उपचार भएको र धेरैजसो डिस्चार्ज भएका बताएको छ । एम.सी .अल्जरका खेलाडी र कर्मचारीहरू घाइतेहरूलाई रगत दिन अस्पताल गएका समाचार एजेन्सी रोयटर्समा उल्लेख गरिएको छ । गएको वर्ष जितेको लिग उपाधि एम.सी. अल्जरले कायम राखेको खेल हेर्नका लागि रङ्गशालामा समर्थकहरूले भरिएको थियो ।
यो घटनापछि लिगको ट्रफी वितरण कार्य स्थगित भएको खबरमा उल्लेख गरिएको छ । यसैबीच अल्जेरियाका राष्ट्रपति अब्देल माजिद तेब्बौनेले घटनाप्रति शोक प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।