२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

विद्युत प्राधिकरणको स्थापना दिवसको अवसरमा वृक्षारोपण

सल्यान ।

नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९ औँ वार्षिकोत्सव को अवसरमा देशैभर मंगलबार वृक्षारोपण गरेको छ ।

नेपाल विद्युत प्राधिकरण ले एकैदिन देशका विभिन्न स्थानमा पर्यावरण सुरक्षा प्रवर्द्धनमा हातेमालो गर्दै एक लाख भन्दा बढी को संख्यामा वृक्षारोपण गरेको जनाइएको छ ।

आफ्नो मातहतको कार्यालयहरुको प्राङ्गण वा उपलब्ध हुने क्षेत्रमा सो वृक्षारोपण गरिएको हो । २०४२ भाद्र १ गते नेपाल विद्युत प्राधिकरणको रुपमा स्थापना भएको हो ।

कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेका हुन् ।

जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

यसैक्रममा दाङको घोराही स्थित घोराही वितरण केन्द्रले पनि कार्यालय बिरुवाहरु को रोपण गरेको छ । केन्द्र प्रमुख दिवाकर प्याकुरेलका अनुसार घोराही वितरण केन्द्रमा धुबि सल्ल कपुर अमला प्रजातिका र विभिन्न फुलहरु लगायतका गरी ८५ भन्दा बढी बोटहरुको वृक्षारोपण गरिएको जनाइएको छ ।

विद्युत लाइन निर्माण र सुधारका क्रममा त्यहाँ पर्ने बिरुवा काटिदै गर्दा शुद्ध पर्यावरण का लागि वृक्षारोपणप्रति पनि नेविप्रा गम्भीर रहेको बताउदै केन्द्र प्रमुख प्याकुरेलले केन्द्रीय निर्देशन अनुसार देशैभर एकैसाथ वृक्षारोपण गरिएको बताए । “हामीले गरेको वृक्षारोपण संगै ती बेर्नाहरुको निरन्तर ख्याल राख्ने गरि कार्ययोजना पनि बनाएका छौं “- उनले भने ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस