२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

सल्यानमा धान बाेकेकाे मिनीट्रक दुर्घटना हुँदा ३ बालबालिकाकाे मृत्यु

सल्यान ।

सल्यानमा धान र पराल बाेकेकाे मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाकाे कपुरकोट गाउँपालिका-६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर छापनेटा जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । मृत्यु हुनेमा सबै बालबालिका रहेका छन् । मृतक दुई जनाको घटना स्थलमै र एकजनाको बाटोमा मृत्यु भएको बताइएकाे छ ।

यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारको लागि कपुरकाेट गाउँपालिकाको अस्पतालमा राखिएको बताए । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको छ ।

दुर्घटनामा परेको मिनीट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । दुर्घटना कसरी भयो भन्ने नखुलेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस