२०८३ जेष्ठ ५ गते मङ्गलवार | 2026 May 19th Tuesday

श्रीनगरमा नागरिक सम्वाद कार्यक्रम : समाजको लागि काम गर्ने मान्छे बन्न रावतकाे आग्रह

सल्यान ।
मानव अधिकार तथा शान्ति समाज सल्यानले साेमबार श्रीनगरमा नागरिक संवाद कार्यक्रम गरेकाे छ । ‘कर्णाली उत्थानमा याेगदान गर्न आग्रह’ विषयमा नागरिक सम्वाद गरिएकाे हाे ।

कार्यक्रममा बाेल्दै त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले अहिलेको पुस्ताले आफू जन्मेको कुरामा पनि पश्चाताप गर्ने दिन आएकोमा दुःख पोखेका छन । समाजका लागि केहि गर्नुपर्ने मान्छेहरूले जन्मदातालाई दुखेसो पोखेर आमाबुबाप्रति गुनासो गर्न नहुने बताएका हुन ।

नेताहरू धेरै बोलेर समय खर्चिरहेको बेला काम गरेर देखाउने नेताको आवश्यकता जनताले गरिरहेकोले अब नेताले मस्तिसक्लाई परिवर्तन गर्ने बेला आएको बताए । उनले कर्णालीमा भएको स्रोत साधनको प्रयोग गर्दै अघि बढ्ने तर्फ ध्यान नगएकोमा दुःख व्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापती रामकृष्ण बरालले आफैले चलाएको व्यवस्थामा राजनीतिक दलहरू नै सन्तुष्ट नभएको बताए । राजनीतिक दलप्रति नागरिकको वितृष्णा बढिरहेका बेला विभिन्न समयमा देशभर भएको मतसंख्या, सिट संख्या र नागरिकको उपस्थिति अध्ययन गरेर जनता सन्चुष्ट बनाउन लाग्नुपर्ने बताएका हुन ।

देशमा लोकतन्त्र बलियो हुनुपर्ने भन्दै उनले लोकतन्त्रको पक्षमा शान्ति समाज भएको र कर्णालीको समस्यासंग नजिक हुने गरि आएको बताए ।

कार्यक्रमका अर्का अतिथि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले कर्णालीको लागि संगसंगै अघि बढ्ने उद्देश्य अनुसार देखिएका विभिन्न समस्या समाधानमा पनि संगै लाग्नुपर्ने भन्दै विकास निर्माणमा कसैलाई पनि राजनीति नगर्न अनुरोध गरेका छन ।

कार्यक्रममा नेपाली काग्रेशका उपसभापती चक्र देवकोटा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हिमाल यात्री, रास्वपाका प्रदेश सभापति पवनराज देवकोटा, नेकपा एकीकृत समाजवादीका राम खड्की लगायतले सम्बोधन गरेका थिए ।

त्यस्तै मानव अधिकार तथा शान्ति समाजको तर्फबाट पुर्व बरिष्ठ उपाध्यक्ष सुशील बस्नेत, केन्द्रीय सचिवः निर्मल नेपाली, प्रदेश सचिवः प्रकाश शाही, केन्द्रीय सदस्य तुल्सीराम सुनार दाङका सभापति कमल डिसीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिल्ली राज रावत, नेपाल वार यसोसियसनका अध्यक्ष सिपि वली, उद्योग वाणिज्यसंघका उपाध्यक्ष राजेन्द्र भण्डारी, लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष प्रेम नारायण विक, संस्थाका सल्लाहकार वीर बहादुर सेजवाल, पुर्व अध्यक्ष तथा सल्लाहकार विष्णु शर्मा र मानवअधिकारकर्मी रामचन्द्र रेग्मी लगायतले सम्बोधन गरेका हुन ।

समाजका जिल्ला सभापती अंगेश्वर डागीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भक्त बहादुर चन्दले गरेका थिए भने सहभागिलाई शिव कुमार शर्माले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस