२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

युद्ध भूमीकाे रुपमा रहेकाे सल्यानकाे बुराँसेमा मैत्रीपूर्ण सम्बन्ध जाेड्दै नेपाली सेना

सल्यान ।

कुनै बेला सशस्त्र माओवादी र नेपाली सेनाबीच घमासान युद्ध भएकाे भूमी सल्यानकाे छत्रेश्वरी गाउँपालिका २ बुराँसेमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपुर्ण खेल कार्यक्रम सम्पन्न गरेकाे छ ।

समाजमा मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने, स्वास्थ्य सेवा उपलब्ध गराउने तथा युवा सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको सिद्धिबक्स गण सिमखर्ख सल्यानको आयोजनामा बुधबार निशुल्क स्वास्थ्य सेवा प्रदान संगै मैत्रीपुर्ण खेल लगायतका कार्यक्रम आज सम्पन्न भएका छन् ।

जनता माध्यमिक विद्यालय बुराँसेटाकुरीकाे प्राङ्गनमा भएकाे शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकालगायत विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । र शिविरबाट १९० जना महिला र १२० जना पुरुष गरी जम्मा ३१० जना स्थानीय लाभान्वित भएकाे सिद्धिवक्स गण सिमखर्कका प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले बताए ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले हाडजोर्नी, स्त्रीरोग, बालरोग, नाक-कान-घाँटी लगायत विभिन्न रोगहरूको उपचार गरेका थिए। साथै, बिरामीहरूको जाँचसँगै औषधि वितरण, ल्याब सेवा तथा मुटुसम्बन्धी इसिजी परीक्षण सेवा समेत प्रदान गरिएको थियो।

उक्त शिविरमा नेपाली सेनाका ७ जना चिकित्सक, जिल्ला स्वास्थ्य चौकी सल्यानका ३ जना तथा छत्रेश्वरी स्वास्थ्य सेवाका ३ जना स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए ।

साथै कार्यक्रममा भलिबल प्रतियोगिता को समेत आयोजना गरिएको थियो भने बुरासे युद्ध पर्यटन क्षेत्र भएकाले युद्धको समयमा भएका बिष्पोटक पदार्थबाट कसरी सुरक्षा अपनाउने भनेर सचेतना कार्यक्रम सन्चालन समेत गरिएको थियो ।

कार्यक्रमकाे सहकार्य १९ नम्बर वाहिनी तुलसीपुर दाङ, स्थानीय सरकारकाे रुपमा छत्रेश्वरी गाउँपालिका र २ नं. वडा तथा विद्यालय व्यवस्थापन समितिले गरेकाे थियाे ।

शिविर अवलोकन गर्न तथा स्थानीय नागरिकहरूसँग भेटघाट गरी समस्या बुझ्न १९ नम्बर बाहिनी अड्डा, तुलसीपुर दाङका बाहिनीपति सहायक रथी पदमबहादुर बुढा मगर पनि उपस्थित भएका थिए ।

यस्तै कार्यक्रममा सहभागी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीलाई वाहिनिपतिले मायाको चिनो प्रदान गरेका थिए । नेपाली सेनाले सञ्चालन गरेका सामाजिक कार्यहरूको सराहना गर्दै अध्यक्ष बुढाथाेकीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

नेपाली सेनाका डाक्टर सगुन दवाडी सहित सात जनाको चिकित्सक टोली, जिल्ला स्वास्थ्य कार्यालय सल्यानका डाक्टर सागर धिताल, डाक्टर रवीन राई, छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डांगी लगायतको चिकित्सक टोली चेकजाँच र उपचारमा खटिएको थियो ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष श्री प्रकाश हमाल, २ का वडा अध्यक्ष श्री प्रेम नेपाली सहित वडा सदस्यहरु, बिब्यसका अध्यक्ष सहित बिद्यालय प्रशासन, पत्रकार लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस