२०८३ असोज ३ गते शनिवार | 2026 September 19th Saturday

राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने 

काठमाण्डौँ, २५ चैत्र । राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने बताउनु भएको छ ।  

यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो । तर जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत् राप्रपालाई दिएको थियो । त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो ।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताउनु भएको छ  ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस