जेठ १५ गते राजावादीको आन्दोलनसँग एमालेको कार्यक्रम जुधाउने योजना
कामाण्डौँ, १२ जेठ । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राख्नु भएको हो ।
उहाँले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने तर्कमात्रै गर्नु भएको छ । उहाँले कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिनु भएको छ । उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई निर्देशन दिनु भएको छ ।
उहाँले यसबारेमा पार्टीले आवश्यक निर्देशन विस्तृतमा पछि दिने भन्दै काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउनु भएको छ । सत्ता चलाइरहेका प्रधानमन्त्रीले जुनसुकै शान्तिपूर्ण विरोधका कार्यक्रमलाई सहने, हिंसात्मक र अराजक क्रियाकलापलाई राज्यप्रशासनले रोक्ने तर्क गर्नुपर्ने थियो । तर उहाँले सिधै आफ्ना कार्यकर्तालाई भिड्न उक्साउने गरी अभिव्यक्ति दिनु भएको छ । राजावादीहरू कुनै महान् उद्देश्यका लागि नलडेको बताउँदै सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको दाबी गर्नु भएको छ ।