२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

काठमाडौँ, १७ जेठ । काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गर्नु भएको हो ।

आज (जेठ १७) देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

बिहीबारदेखि राजावादी प्रदर्शन सुरु भएसँगै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । राजावादीले बिहीबार शान्तिबाटिका र शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरूले नारायणहिटी क्षेत्रमा समेत प्रदर्शनको तयारी गरेका छन्। राजसंस्था पुनस्र्थापनाको माग पूरा नभएसम्म आन्दोलन जारी रहने राजावादीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस