बन्दमा राइड सेयरिङ सञ्चालकहरुले मनपरी भाडा असुल्दै
काठमाण्डौँ, १९ जेठ । यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेको मौकामा राइड सेयरिङ सञ्चालकहरुले मनपरी भाडा असुल्न थालेका छन् । ट्राफिक प्रहरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताए पनि मन परि भाडा असुल्न छाडेका छैनन् ।
काठमाडौंमा सञ्चालित राइड सेयरीङमा सामान्य ट्याक्सीको भाडा ७०० भन्दा बढी र सुविधाजनक ट्याक्सीको भाडा ८०० रुपैयाँभन्दा बढी देखिन्थ्यो । कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारदेखि डिल्लीबजार आउन विगतमा १ सय ५० रुपैयाँ भाडा लाग्नेमा आज आइतबार ३ सय रुपैयाँ भाडा देखिन्थ्यो । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले कालो नम्बर प्लेटका सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेको छ ।
सार्वजनिक गाडी चढ्न नपाएपछि यात्रीहरु पठाओ, इनड्राइभ, इड्राइभ, ट्याक्सीमाण्डु जस्ता राइड सेयरिङ एपमार्फत् सेवा लिन बाध्य छन् । त्यही मौका छोपेर कतिपय राइडरहरुले महँगो भाडा असुलेको यात्रीहरुको गुनासो छ । यसबाट अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारणहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताउनु भएको छ ।