२०८३ असार २ गते मङ्गलवार | 2026 June 16th Tuesday

भारतीय दूतावासद्वारा दमाचाैर स्वास्थ्य चाैकीलाई एम्बुलेन्स सहयाेग

सल्यान 

भारतीय दूतावासले दमाचाैर स्वास्थ्य चाैकीलाई एम्बुलेन्स सहयाेग गरेकाे छ ।

शनिबार भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेकोमा दमाचाैर स्वास्थ्य चाैकी पनि समेटिएकाे हाे । छत्रेश्वरी गाउँपालिका वडा नं. १ मा रहेकाे दमाचाैर स्वास्थ्य चाैकीकाे एम्बुलेन्स केहि वर्ष पहिला बाँकेमा दुर्घटना हुँदा क्षेतीग्रस्त भएकाे र अहिलेकाे एम्बुलेन्स धेरै पुरानाे भएकाेले समस्या रहेकाे थियाे ।

उक्त समस्यालाई समाधान गर्न वडा अध्यक्ष प्रकाश हमालले स्वास्थ्य मन्त्री प्रदीप पाैडेललाई आग्रह गरेकाेमा मन्त्रालयले भारतीय दूतावासमार्फत एम्बुलेन्स सहयाेग गरेकाे हाे । छत्रेश्वरी गाउँपालिका वडा नं. १ काे याे ठुलाे उपलब्धी भएकाे भन्दै वडा अध्यक्ष हमालले सहयाेग गर्ने स्वास्थ्य मन्त्री पाैडेल सहित उनकाे सचिवालय टिम, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथाेकी सहितलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् ।

दूतावासले नेपालका सातै प्रदेशका ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप शनिबार प्रदान गरेकाे छ । काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

“उपहारस्वरुप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरूमध्ये एक हो। यो पहल भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा हो। जुन दुई देशबीचको सात दशक लामो र बलियो सम्बन्धको निरन्तरता हो”, उनले भने।

भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस