२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

संगीत दिवसमा काठमाडौंमा थारू कलाकारहरूको धमाकेदार प्रस्तुति, झुमे दर्शक

काठमाडौं। विश्व संगीत दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित धमाकेदार प्रस्तुति दिएका छन् । राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको वृहत्त राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरुले आ-आफ्नो ठाउँ विशेका धमाकेदार प्रस्तुतिहरू दिएका हुन् ।

कार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पुर्व सांसद रेशम चौधरीले गरेका थिए । कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे। उनले भने, ‘मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सुरु गरेको सांस्कृतिक क्रान्ति सुरु गरे।

जब गणतन्त्र आयो, उनीहरुले थारूको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन्। मलाई थुने।अनि राजनीतिमा म बाध्य भएर आउनु पर्यो।’ देशभरका थारू कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिने राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले बताए ।

उनका अनुसार वीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत  देशभरका राष्ट्रिय कलाकारहरूले आ-आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति दिएका थिए । कार्यक्रममा चारजना अग्रज स्रष्टाहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस