२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

सिद्ध कुमाख गाउँपालिकाको बजेट ३५ कराेड ३७ लाख

सल्यान 

सिद्ध कुमाख गाउँपालिकाको १७औं गाउँसभा अधिवेशनअन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ। गाउँसभा सभाध्यक्ष भरत गिरीको अध्यक्षतामा मंगलबार भएको दोस्रो बैठकमा उपाध्यक्ष रामबहादुर बस्नेतले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेका छन्

बस्नेतले प्रस्तुत ३५ करोड ३७ लाख रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रमलाई गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटमा ७६.६७ प्रतिशत अर्थात २७ करोड १२ लाख ३० हजार चालू खर्चतर्फ र २३.३३ प्रतिशत अर्थात ८ करोड २४ लाख ७० हजार पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

शाखागत बजेट विवरण यस प्रकार छ:

  • गाउँपालिका कार्यालयतर्फ: ९ करोड ९० लाख ९१ हजार ४३८ (चालु: ६ करोड ५९ लाख ४१ हजार ४३८, पुँजीगत: ३ करोड ३१ लाख ५० हजार)
  • शिक्षा, युवा तथा खेलकुद: २ करोड ५८ लाख १० हजार
  • स्वास्थ्य: १ करोड ४५ लाख ३० हजार
  • कृषि: २६ लाख ३० हजार
  • पशुपन्छी विकास: २४ लाख ९० हजार
  • महिला तथा बालबालिका: २० लाख
  • दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (साझेदारीमार्फत): ८० लाख ११ हजार ५६२
  • वडागत कार्यक्रम: १ करोड ५ लाख
  • संघीय तथा प्रदेश सरकारको शसर्त कार्यक्रम: १८ करोड ८६ लाख ३७ हजार

बैठकले आगामी वर्ष कार्यान्वयन हुने “नीति तथा कार्यक्रम २०८२”, “विनियोजन विधेयक २०८२”, “आर्थिक विधेयक २०८२”, र “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२” लाई समेत सर्वसम्मत पारित गरेको छ।

स्थानीय विकास, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र खानेपानीमा केन्द्रित बजेटले गाउँपालिकाको समग्र प्रगति र जनउत्तरदायिता मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस