छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिका जोड्ने झोलुंगे पुलको उद्घाटन
सल्यान ।
छत्रेश्वरी गाउँपालिका वडा नं ५ सिरुवालीदेखि बागचौर नगरपालिका १० मोखला जोड्ने झोलुंगे पुलको उद्घाटन गरिएको छ । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बिहिबार उक्त पुलको उद्घाटन गरेका हुन् । छत्रेश्वरी गाउँपालिकाकाे २ नम्बर वडा बाटए भएर आउने दहखाेलाकाे माेखला क्षेत्रमा उक्त पुल निर्माण गरिएकाे हाे ।
कार्यक्रममा भूमी समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, छत्रेश्वरी गाउँपालिका वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष टंक बहादुर वली, गैरसरकारी संस्था महासंघ सल्यानका उपाध्यक्ष खडग शाही, शारदा संस्था नेपाल सल्यानका प्राविधिक रमेश भण्डारी लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।

छत्रेश्वरी गाउँपालिका मार्फत संघीय सशर्त अनुदानमा र शारदा संस्था नेपालको प्राविधिक सहयोगमा ८२ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो । जनश्रमदान सहित ५१ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको ठारखोला झोलुंगे पुल निर्माण समिति छत्रेश्वरी गाउँपालिका ५ का अध्यक्ष ज्योती रावतले बताए ।
यस झोलुंगे पुल निर्माण भएसंगै करिव २०० घरधुरी लाभान्वित भएकाे उनकाे भनाइ छ । पुल निर्माण कार्य २०८० फागुन २५ देखि सुरु भएको थियो ।
पुल उद्घाटन कार्यक्रममा बाेल्दै छत्रेश्वरी गाउँपालिका गाउँपालिका अध्यक्षल बुढाथाेकीले पुलले दुई पालिकाबीचको आवागमन सहज बनाउने बताए । विशेषगरी वर्षायाममा जोखिमयुक्त तरिकाले खोला पार गर्न पर्ने बाध्यता अन्त्य भएकाे बताए । बालबालिका, वृद्धवृद्धा, किसान सबैको दैनिक आवतजावत सहज बनेको उनको भनाई थियो ।