२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

महिनौंदेखि तुलसीपुरमा रोकिराखेको दार्मा गाउँपालिकाको गाडीको चर्चा, के हो वास्तविकता ?

सल्यान ।

दाङको तुलसीपुरमा एउटा घाँसको झाडीमा सरकारी गाडी भेटिएको विषय यतिबेला सामाजिक संजालमा चर्चा भएको छ ।

दार्मा गाउँपालिका सल्यानको वि ए सी २६७२ नम्बरको गाडी तुलसीपुरको हात्तीतीखौवा नजिकै एउटा घरछेउमा घाँसले पुरिनै लाग्ने अवस्थामा भेटिएको हो । झट्ट हेर्दा गाडी व्यवारिसे अवस्थामा जस्तो देखिन्छ ।

के हो वास्तविकता ?

गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश कार्यसमितिको बैठक गत बैशाखमा मुगुको रारामा थियो । दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष हुन् । उनि उक्त गाडीमा सल्यानबाट मुगु पुगे ।

बैठक सकिएपछि बैशाख २८ गते मुगुबाट सल्यान फर्किन लागे । तर उनको फर्किने यात्राको रुट थियो कर्णाली राजमार्गबाट सुर्खेत हुँदै कोहलपुर भई दाङ तुलसीपुरबाट सल्यान ।

गाडीमा समस्या देखिएपछि गाडी चालक अर्जुन वलीले तुलसीपुरमा वर्कसपमा देखाए । गाडीमा लाख बढी खर्च आउने देखिएपछि उनले प्रमुख प्रशासकीय अधिकृत रेशम वलीलाई फोन गरेर सोधे ।

“त्यसपछि हाकिमसापले यो वर्ष मर्मतका लागि बजेट नभएको र बर्खा सुरु हुन लागेकाले फेरि त्यस्तै समस्या आउने भएकोले बर्खा सकिएपछि मर्मत गर्ने भन्नुभयो”, चालक अर्जुनले लेकाली अनलाइन सँग भने, “यस्तो अवस्थाको गाडी दार्मा लिदाँ झन दुख पाइने भएकोले मर्मत नहुँदासम्म तुलसीपुरमै छोड्ने निधो गरियो ।”

लामो समयसम्म वर्कसपमा गाडी राख्दा कसैले पाठपुर्जा वा सामान परिवर्तन गर्न सक्ने भएकोले आफ्नो भिनाजु नाता पर्ने दार्माकै मान्छेको घर हात्तीखौवामा रहेको र उनकै घर छेउमा राखेको चालक वलीले बताए । उनलेे भने, “गाडी राखेको ठाउँ मेरो भिनाजूको घरको छेउमा हो । त्यहाँ उहाँको पनि अर्को गाडी राखिन्छ । उहाँले यहि राख्नुहोस् मेरो पनि गाडी यहि सुरक्षित हुन्छ भनेपछि मैले त्यहि छोडेको हुँ ।” उक्त गाडी त्यहाँ छोडेपनि दार्मा गाउँपालिकाको अर्को गाडी पनि भएकोले पालिकाले अहिले अर्को गाडी प्रयोग गर्छ ।

यसरी चालकले राम्रै उदेश्यले यहाँ गाडी राखेपनि तर सरकारी सम्पत्ति यसरी राख्नु भने राम्रो होइन । एउटा जिल्ला बाट अर्को जिल्लामा यसरी खुल्ला ठाउँमा गाडी छोड्दा त्यसमा कसैले क्षति पुर्याएमा जिम्मेवार को हुने र कसले क्षतिपूर्ति गर्छ प्रश्न उठ्न सक्छ ।

यसबारे थप कुरा गर्न गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई फोन गर्दा सम्पर्क हुन सकेन् ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस