छत्रेश्वरी मन्दिर पुग्ने पदमार्ग उद्घाटन
सल्यान ।
छत्रेश्वरी गाउँपालिका वडा नं ६ स्थित प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल छत्रेश्वरी सतिपिठसम्म पुग्नका लागि निर्माण गरिएको पर्यटकीय पदमार्ग एवं अन्य भौतिक संरचनाहरुको उद्घाटन गरिएकाे छ । बिहिवार शिलालेख अनावरण गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पदमार्ग तथा पूर्वाधार निर्माण कार्यको समुद्घाटन गरेका हुन् ।
छत्रेश्वरी गाउँपालिकाको पहलमा संघीय सरकारको पर्यटन विभाग मार्फत ठेक्का प्रक्रियाबाट पर्यटकीय पदमार्ग निर्माण कार्य भएकाे हाे । ३ करोड ११ लाख रूपैयाँ लागतमा पदमार्ग निर्माणका लागि रामेछाप सानु दामोदर जे.भी.ले दुई करोड ६४ लाख रुपैयाँमा २०८२ भदौ सम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । सम्झौता अवधि अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको हाे ।
राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको छ भने भक्तजन एवं पर्यटकहरुलाई थप सहजताका लागि पदमार्ग निर्माण गरिएकाे हाे । पक्की सिढी रहेकाे पदमार्ग शंखमुल-दारिमज्यूला सडकखण्डकाे शंकमुल क्याम्पसकाे गेटदेखि छत्रेश्वरी मन्दिरकाे पार्किङ स्थलसम्म बनाइएकाे छ ।

दुईवटा प्रतिक्षालय, एउटा आधुनिक र अपांगतामैत्री सौचालय, ठाउँठाउँमा यात्रु विसौनीहरु तथा मन्दिर देखि शंखमुलसम्म १३६० मिटर र छायाँढुंगा तर्फ दुईसय मिटर बढी ढुंगा विछ्याएर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ । अन्य विभिन्न भौतिक संरचनाहरु समेत बनाइएको छ । जाजरकोट, दैलेख र प्युठानबाट ढुंगा ल्याएर पदमार्गको सिँढीहरु बनाइएको हो ।
पदमार्ग निर्माण कार्यको गत साउन १४ गते गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सिलान्यास गरेकी थिइन् । पदमार्ग समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढा, वडा नं ७ का वडाध्यक्ष टेक बहादुर विष्ट, गाउँपालिकाका प्रेस सल्लाहाकार शंकर केसी, पत्रकार महासंघ सल्यानका काेषाध्यक्ष खकेन्द्र केसी, निर्माण कम्पनी रामेछाप सानु दामोदर जे.भी. गोकर्णेश्वर, ६ जोरपाटीका सञ्चालक फुर्वा नामगेल शेर्पा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण खडग शाहीले गरेका थिए ।
