२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

बिरामी आमालाई लिएर एकै परिवारका ५ जना रुकुमबाट दाङ जाँदै थिए, कपुरकाेट दुर्घटनामा परे

तीन जनाकाे घटनास्थलमै मृत्यु, दुई जना घाइते

सल्यान ।

सल्यानकाे कपुरकाेटमा भएकाे सवारी दुर्घटनामा पर्नेहरु एउटै परिवारका रहेकाे खुलेकाे छ ।

गएराती रुकुम पश्चिमबाट दाङ तर्फ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोटमा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परेर ज्यान गुमाउने र घाइते हुने बाँफिकोट गाउँपालिका ५ काँडा गाउँका केसी परिवारका सदस्यहरु हुन् ।

दुर्घटनामा परि मृत्यु हुने ६८ बर्सिया पवि केसी उनका देवरका छाेरा २७ वर्षीय प्रकाश केसी र शशिधर केसी रहेकाे काँडाका स्थानीय अनिश केसीले लेकाली अनलाइनलाइ बताए । प्रकाश गाडीका सहचालक समेत हुन् ।

यसैगरी घाइते हुने ४७ वर्षीय खगेन्द्र के.सी. ३६ वर्षकी बिना के.सी मृतक पवि केसी छाेरा र छाेरी हुन् ।

आमा पवि केसी बिरामी भएपछि उपचारका लागि शुक्रबार मिशन अस्पताल चाैरजहारी पश्चिम रुकुममा ल्याएका थिए । त्यहाँ सुधार नभएपछि शनिबार राती थप उपचारका लागि चाेरजहारीबाट घाेराही जाने क्रममा राती दुर्घटना भएकाे केसी परिवारका आफन्त प्रकाश खरेले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राती १२ बजेर १० मिनेटमा कपुरकाेट प्रहरी चेक प्वाइन्टमा गाडी इन्ट्री भएकाे थियाे । गाडी इन्ट्री भएकाे ठाउँदेखि करिब ४ किलाेमिटर अगाडी चाेरखाेला नजिकै गाडी दुर्घटना भएकाे हाे ।

दुर्घटनाकाे खरब प्रहरीले बिहान साढे ३ बजे थाहा पाएपछि घटनास्थल पुगेकाे थियाे । घटनास्थलमा ३ जनाकाे निधन भइसकेकाे थियाे भने २ जना घाइते छन् । घाइतेहरुलाइ उपचारका लागि नेपालगञ्ज लगिएकाे छ ।

चालक अहिलेसम्म प्रहरीकाे सम्पर्कमा छैनन । दुर्घटना कति बेला र के कारणले भयो भन्ने एकीन भएको छैन । गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस