सल्यानमा दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिए, १४ जनाबीच चुनावी प्रतिस्पर्धा
सल्यान ।
सल्यानमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र आम जनता पार्टीका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। प्रलोपाका शन्तोष कुमार राई र आम जनता पार्टीका मानसिंह विकले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिएका शन्तोष कुमार राईले नेकपा (एमाले) का उम्मेदवार गुलाब जंग शाहलाई समर्थन गर्ने जनाएका छन् । यस्तै, मानसिंह विकले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।
राईले २०४८ सालदेखि नेकपा (एमाले) मा सक्रिय रहेर काम गरेको उल्लेख गर्दै प्रलोपा त्यागेर पुनः एमालेमै फर्किएको जानकारी आफ्नाे जारी विज्ञप्तिमार्फत दिएका छन् ।
दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब सल्यानमा दुई जना स्वतन्त्र उम्मेदवारसहित कुल १४ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।