जनताले जिताए परिणाम देखिने विकास गर्छु : मल्ल
सल्यान ।
सल्यानको कालिमाटी गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टी को पालिकास्तरीय बैठक तथा प्रशिक्षण भेला सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार कालिमाटी गाउँपालिकामा भेला आयोजना गरिएको हो।
पार्टीका नेता शालिकराम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रकाश ज्वाला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने केन्द्रीय सदस्य एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा नेता कृतीबहादुर पुन, प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश कुमार मल्ललगायतका जिल्ला तथा पालिकास्तरीय नेताकार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश कुमार मल्लले आफू विगतदेखि नै जिल्लाको विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र ग्रामीण सडक सञ्जालको सुधारका विषयमा निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो,
“मैले जिम्मेवारी नहुँदा पनि सकेको पहल, समन्वय र प्रयासबाट जिल्लामा थुप्रै साना ठूला विकासका काम अघि बढाएको छु। अब जनताले विश्वास गरेर प्रतिनिधिसभामा पठाउनुभयो भने सल्यानको समग्र विकासलाई स्पष्ट योजना, बजेट व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमार्फत तीव्र गतिमा अघि बढाउनेछु। कालिमाटी गाउँपालिका सहित समग्र जिल्लाको कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, युवालाई उद्यमसँग जोड्ने कार्यक्रम, खानेपानी, सिंचाइ र सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो स्पष्ट कार्ययोजना छ। विकासलाई कागजमा सीमित नराखी जनताको घरदैलोमै अनुभूति हुने गरी परिणाममुखी काम गर्ने मेरो प्रतिबद्धता छ।”
भेलाले तारा चुनाव चिन्हवाहक उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउन कालिमाटी गाउँपालिकामा १०७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको संयोजकमा रुद्रबहादुर घर्ती मगर, सह–संयोजकमा ज्ञानबहादुर खत्री तथा सचिवमा बिरबहादुर बि.सी चयन हुनुभएको छ।