सल्यानमा पुराना ३ ठुला दललाई नयाँ ३ उम्मेदवारकाे चुनाैती
सल्यान ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाे सल्यानमा याे पटककाे प्रतिनिधिसभाकाे निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र गरि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यहाँ पुरानाे विरातस भएका पार्टी नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरु कुनै गठबन्धन बिना चुनावी मैदानमा छन् भने अन्य साना भनिएका दल, नयाँ दल र केहि स्वतन्त्र उम्मेदवारहरु पनि चुनावमा हाेमिएका छन् ।
नेकपा (एमाले) का कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, नेपाली कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रमेशकुमार मल्ल सल्यानमा पुरानाे विरासत भएका पार्टीका उम्मेदवार हुन् ।
यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश महामन्त्री ललितकुमार चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीकी निवर्तमान प्रतिनिधिसभा सदस्य अनिशा नेपाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का, स्वतन्त्र युवा अभियानी धुर्वराज वली लगायत मैदानमा छन्।
२०७९ सालमा यहाँ कांग्रेस–तत्कालीन माओवादी–नेकपा एस लगायतका दलहरूका बीचमा चुनावी तालमेल भएको थियो। त्यो समयमा सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसका प्रकाश ज्वाला निर्वाचित भएका थिए।
समानुपातिक मत विश्लेषण गर्ने हो भने अहिले पनि तीन पार्टीकै बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमाले, कांग्रेस र नेकपा यी तीन वटै परम्परागत शक्तिका बीचमा जिल्लामा बलिया संगठनहरू छन्। तर, पनि पछिल्लो परिवर्तित परिस्थितिमा नयाँ शक्तिका रूपमा उदाएको रास्वपा लगायत अन्य स्वतन्त्र उम्मेदवारको प्रभाव पनि सशक्त देखिएको छ।
२०७९ काे समानुपातिक तर्फको मत हेर्दा एमालेले २२ हजार २ सय ५६, नेकपा (माओवादी केन्द्र) ले २१ हजार ३ सय २५, कांग्रेसको १९ हजार ९ सय ६६, नेकपा (एकीकृत समाजवादी) को ५ हजार ९ सय ७०, रास्वपाको ४ हजार ५ सय २२, राप्रपाको २ हजार ३ सय ८ मत छ।
गत निर्वाचन २०७९ को एमालेको समानुपातिक मत विश्लेषण गर्दा सबैभन्दा धेरै छ। कांग्रेस–माओवादी गठबन्धन हुँदा प्राप्त त्यो मत जोगाउन सके एमाले शाह विजयी बन्ने सम्भावना छ। एमालेका शाह प्रदेश सभामा एक पटक(२०७४) मा विजय र एक पटक (२०७९) मा पराजय बेहोरेका व्यक्ति हुन्।
कांग्रेसका विष्ट पूर्वजिल्ला समन्वय समिति प्रमुख पनि हुन्। तर उनी गत स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकामा पराजित भएका व्यक्ति पनि हुन् । उनि गाउँपालिकामा पराजित हुनुलाई पार्टी भित्रको गुटगत राजनीति मानिएको थियो।
स्थानीय र प्रदेश कुनै पनि चुनाव नलडेका मल्ललाई नेकपाले एकैपटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। पहिलो पटकमै संसदीय निर्वाचनमा होमिन थालेका मल्ल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्वकीय सचिव थिए । युवाको चाहनाअनुसार उनलाई पार्टीले उम्मेदवार बनाएको हो।
उनिहरु पहिलो पटक संसदीय निर्वाचनमा भाग लिँदै छन् । यी तीन दलका उम्मेदवारलाई दबावमा राख्न अन्य नयाँ ३ जना उम्मेदवारहरु पनि चुनावी मैदानमा छन् ।
रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललित चन्दले सल्यानमा अघिल्लाेपटक रास्वपाले पाएकाे मत भन्दा केहि गुणा मत बढाउने देखिन्छ । उनि पेशाले इन्जिनियर हुन् भने पुर्व माओवादी पृष्ठभूमिका नेता हुन् । अहिले देशव्यापी चलेकाे रास्वपाकाे लहरले सल्यानमा पनि राम्राे मत ल्याउने देखिन्छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का (असल) माओवादी पूर्वलडाकू कमाण्डर हुन्। शहिद परिवारका सदस्य रहेका उनि माओवादी घटक भित्र राम्राे प्रभाव पार्ने नेता हुन् । माओवादी एक हुँदाका बखत उनले सल्यानमा वाइसेलकाे नेतृत्व गरेर उनि लाेकप्रिय थिए । उनले पनि पुराना दलहरु र अझ माओवादी घटकबाट राम्राे मत ल्याउने देखिन्छ ।
यस्तै स्वतन्त्र उम्मेदवार धुर्वराज वलि पनि युवामाझ लाेकप्रिय व्यक्ति हुन् । सल्यानमा सामाजिक संजालकाे सुरुवाती चरण देखिनै उनले डिजिटल प्लेटफर्मलाइ प्रयाेग गरेर जिल्लामा विभिन्न नमुना कामहरु गरेका थिए । सल्यान चिनाउन विभिन्न तस्बिरहरु सार्वजनिक देखि दाङ-सल्यान सिमानामा मिनि पार्क, सल्यानी युवाहरुका विभिन्न सम्मेलनहरु उनले विभिन्न समयमा गर्दै आएका थिए । कानुनका विद्यार्थी समेत रहेका उनकाे पेशागत प्रतिष्ठा र आकर्षक व्यक्तित्वले धेरै युवा आकर्षित छन्।
यसरी हेर्दा सल्यानमा पुराना विरासत भएका दलहरुकाे मत नयाँले तान्ने सम्भावना देखिन्छ । मतदाताले पहिलो पटक संसदीय निर्वाचनमा होमिएका नयाँ अनुहार रोज्छन् वा पुरानै अनुहार त्यो निर्वाचनपछि मात्रै स्पष्ट हुनेछ।
सल्यानमा पुरूष मतदाता ८३, ३२१ र महिला मतदाता ७९,१२८ गरी कुल मतदाता १,६२,४४९ छन्। ५१ देखि ६५ वर्ष उमेर समूहका मतदाता सबभन्दा धेरै ५० प्रतिशत छन् भने ३५–५० उमेरका २५ प्रतिशत र २५–३५ उमेर समूहका पनि समान २५ प्रतिशत मतदाता छन्।