२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

बिरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्समाथी तोडफोड, चालकमाथि कुटपिट

सल्यान ।

बिरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्समाथि शनिबार राति आक्रमण भएको छ। रूकुम पश्चिमको चौरजहारीबाट विरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्समाथि आक्रमण भएको हो।

सुर्खेतको छिन्चु नजिकै पर्ने रामघाटमा राति करिब १० बजेको समयमा ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको जनाइएको छ। एम्बुलेन्समा विरामी र एक जना कुरुवा रहेका थिए।

एम्बुलेन्स चालक वसन्त शर्मालाई गाडीबाट तानेर आक्रमणकारीहरूले कुटपिट गरेका थिए। ज्यानको जोखिम भएपछि चालक शर्मा भागेर जोगिएका थिए। चालक भागेपछि आक्रमणकारीहरूले एम्बुलेन्समा समेत तोडफोड गरेका थिए।
चालक शर्माका अनुसार आक्रमणकारीहरूले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेका थिए र एक्कासी चालकमाथि हातपात सुरु गरेका थिए।

चालक शर्माले घटनापछि प्रहरीलाई जानकारी गराएपछि करिब आधा घण्टामा प्रहरी घटनास्थलमा पुगेको थियो। तर, प्रहरी पुग्दासम्म आक्रमणकारीहरू फरार भइसकेका थिए।

तोडफोड भएकै अवस्थामा एम्बुलेन्सले विरामीलाई लिएर सोही रात नेपालगञ्ज पुग्न सफल भएको चालक शर्माले जानकारी दिए। उनले दुःखका साथ भने, “विरामीको सेवामा रातदिन खटिने एम्बुलेन्स र चालकमाथि आक्रमण हुनु अत्यन्त दुःखद हो,” भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस