२०८३ बैशाख २३ गते बुधवार | 2026 May 6th Wednesday

सल्यानको दमाचौरमा वृहत् ज्ञान योग शिविर

सल्यान ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ दमाचौरमा सोमबारदेखि वृहत् ज्ञान योग शिविर सुरु भएको छ । “गरौं योग, रहौं निरोग” भन्ने नारासहित सञ्चालनमा आएको शिविर वैशाख २५ गतेसम्म चल्नेछ । शिविर अन्तर्गत दैनिक बिहान ४:३० बजेदेखि ६:३० बजेसम्म योग अभ्यास र साँझ ७ बजेदेखि ८ बजेसम्म व्यवहार, आहार र स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण सञ्चालन भैरहेको छत्रेश्वरी गाउँपालिकाको आयुर्वेद शाखाले जनाएको छ ।

शिविरमा योग गुरु लोकनाथ खनालले विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गराइरहनुभएको छ । योग शिविरले शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पुर्याउने उहाँको भनाइ छ ।

सोमबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिविरको उद्घाटन गर्नुभएको थियो । योगले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले पछिल्लो समय जीवनशैलीमा आएको फेरबदलका कारण रोग नियन्त्रणका लागि योग अपरिहार्य बन्दै गएको बताउनुभयो । योग शिविर सुरुवातको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, वडा नं १ का वडा अध्यक्ष प्रकाश हमालले बोल्दै स्वस्थ रहन योगको महत्वबारे चर्चा गर्नुभएको थियो ।

योगमार्फत शारीरिक तथा मानसिक सन्तुलन कायम गर्ने विधिबारे सहभागीलाई व्यवहारिक प्रशिक्षण भैरहेको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख गणेश रावलले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडा नं, ६ स्थित भोटेचौरमा योग अभ्यास भवन समेत निर्माण गरेको छ भने त्यहा नियमित योग साधना हुनेगरेको छ । दमाचौरमा जारी योग शिविरमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस