नागरिकको घरदैलोमै राहदानी पुर्याउन थालियो, सल्यानमा घरघरमै वितरण अभियान सुरु
आनन्द बस्नेत / सल्लीबजार ।
सरकारले लागू गरेको “घरघरमा, हातहातमा राहदानी” कार्यक्रमअन्तर्गत सल्यान जिल्लामा नागरिकको घरदैलोमै राहदानी पुर्याउने कार्य सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यानबीच २०८३ वैशाख २३ गते भएको सम्झौताअनुसार जेठ २१ गतेदेखि राहदानी वितरण अभियान कार्यान्वयनमा आएको हो।
कार्यक्रमको सुरुवात बनगाड कुपिण्डे नगरपालिकाबाट गरिएको छ। नगरपालिकाका १२ वटै वडामा हुलाक कर्मचारीहरू घरघरमै पुगेर राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ। पहिलो दिन नै वडा नं. १ का डिल्लीबहादुर रावत र सन्तोषी रावतको राहदानी उनीहरूका आफन्तलाई घरमै पुगेर हस्तान्तरण गरिएको थियो।
जिल्ला हुलाक कार्यालय सल्यानका अनुसार पहिलो चरणमा ६९ थान राहदानी प्राप्त भएका छन्। ती राहदानी सम्बन्धित पालिकामा रहेका हुलाक कार्यालयमार्फत वितरणका लागि पठाइसकिएको छ। प्राप्त राहदानीमध्ये कालिमाटी गाउँपालिकामा ९, बनगाड कुपिण्डे नगरपालिकामा ७, कपुरकोट गाउँपालिकामा ७, त्रिवेणी गाउँपालिकामा ७, छत्रेश्वरी गाउँपालिकामा ९, बागचौर नगरपालिकामा १६, दार्मा गाउँपालिकामा ३, कुमाख गाउँपालिकामा १, सिद्धकुमाख गाउँपालिकामा ५ र शारदा नगरपालिकामा ५ थान रहेका छन्।
जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीका अनुसार प्राप्त सबै राहदानी एक-दुई दिनभित्र सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिनेछ।
बनगाड कुपिण्डे नगरपालिकामा राहदानी वितरणको जिम्मेवारी पाएको हुलाक कार्यालय बनगाड कुपिण्डेका हल्कारा कृष्ण बिसीले पहिलो दिन सात जनाको राहदानी घरमै पुगेर वितरण गरिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाका सबै वडामा घरदैलोमै सेवा पुर्याइनेछ।
सरकारको यस अभियानले राहदानी लिन सदरमुकाम वा कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटाएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। घरमै सरकारी सेवा प्राप्त हुन थालेपछि सेवाग्राहीको समय, श्रम र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।