२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

छाँयाक्षेत्र स्वास्थ चौकी भवन उद्घाटनसंगै ल्याब सेवा सुरु

सल्यान ।

सल्यान भोटेचौर स्थित छायाँछेत्र स्वास्थ्य चौकीबाट ल्याब सेवा सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नं ६ स्थित छायाँछेत्र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन संगै शुक्रबार ल्याव सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिए । ल्याव सेवाका लागि गाउँपालिकाले आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्थापन गरेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अधयक्ष ओज बहादुर बुढाथोकीले आधारभूत स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउन पालिकाले निरन्तर काम गर्दै आएको उल्लेख गरे । । स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच बढाउनका लागि भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनको काम गरिरहेको र जस अन्तर्गत भवन निर्माण र प्रयोगशाला सेवा सुरु गरिएको उनको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले राप्ती राजमार्गसंगै अवस्थित छायाँछेत्र स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा विस्तार संगै अन्य क्षेत्रका विरामीले पनि लाभ लिन सक्ने बताइन् । वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढा, वडा सदस्य सागर नेपाली लगाएतले बोल्दै भवनबाट सेवा सुरु भएसंगै स्वास्थ्य चौकीबाट प्रसूति सेवा, खोप सेवा, नियमित उपचार, मातृ तथा नवजात सेवा, बाल स्वास्थ्य सेवा लगायतका विविध सेवा सहज रूपमा प्रदान हुने बताए ।

प्रयोगशालामा सुगर, युरिक एसिड, हेमोग्लोविन, पिसाबबाट गर्भ चाँच, क्षयरोग, मलेरिया, डेंगु, कालाजार, टाइफाइड, गर्भावस्थामा गरिने सबै जाँच, इएसआर, सिआरपी, आरए प्याक्टर लगाएतका १५ किसिमको जाँच सेवा प्रदान हुने छायाँछेत्र स्वास्थ्य चौकी प्रमुख प्रतिभा बुढाथोकीले जानकारी दिइन् ।

स्वास्थ्य चौकीबाट ल्याब सेवा सुरु भएसंगै स्थानीयहरूलाई सामान्य रोग परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाहरूले स्वास्थ्य चौकीमा सुविधा थपिएसँगै अब धेरै आधारभूत स्वास्थ्य सेवा यहीँबाटै लिन सकिने भएकाले राहत महसुस भएको बताएका छन् ।

कार्यक्रममा भुमी समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, छत्रेश्वरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. रुकेश घिमिरे, वडा सदस्य खड्गनाथ योगी, स्वास्थ्यकर्मीहरु, सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरु, आमा समूहका प्रतिनिधी लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस