भक्तपुरको चाँगुनारायणमा रहेको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
काठमान्डौं, १७ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बसपार्कमा रहेको १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर काल भैरवको मूर्ति स्थापना गरिएको छ । त्यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७ नम्बर कित्ता भएको सार्वजनिक जग्गालाई वि.स. २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको थाहा पाएपछि स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
आर्थिक वर्ष २०६०÷०६१ मा थाहा भएको यस विषयमा अनुसन्धानपछि अख्तियारले जिल्ला मालपोत कार्यालय भक्तपुरमा व्यक्तिको नाममा दर्ता खारेज गरी सार्वजनिक कायम गरेको थियो । सरकारको नाममा फिर्ता आएपछि स्थानीय सरकारको पहल र नागरिकको सहभागितामा काल भैरवको विशाल मूर्ति स्थापना गरिएको चाँगुनारायण नगरपालिका १ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो । त्यहाँ झन्डै २० लाख रुपैयाँमा अर्काे एक मन्दिर निर्माण गर्ने, साथै २० लाखकै लागतमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र धार्मिक क्षेत्रका रूपमा विकास गरी पर्यटक भित्र्याउने लक्ष्यसहित काम अगाडि बढाइएको वडाध्यक्ष कार्कीले जानकारी समेत दिनुभयो ।