२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

शारदा नगरपालिकाको बजेट १ अर्ब १९ करोड, सबैभन्दा ठुलो योजना जर्खु खानेपानीमा २५ करोड

सल्यान । 

सल्यानको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागी १ अर्ब १९ करोड २९ लाख १२ हजारको बजेट ल्याएको छ ।
असार ४ गते उद्घाटन भई ५ गते सम्पन्न भएको १७ औं नगर सभाले उक्त बजेट पारित गरेको हो । आगामी वर्षका लागि सल्यानका दश पालिकामध्ये शारदा नगरपालिकाले सबैभन्दा पहिला बजेट ल्याएको हो, र यो बजेट सल्यानकै इतिहासमा पालिका अन्तर्गत सबैभन्दा ठूलो बजेट हो । सल्यानका कुनै पनि स्थानीय सरकारले यस भन्दा अघि अर्ब माथीको बजेट ल्याएका थिएनन् ।

शारदाको बजेटको स्रोततर्फ २ करोड रुपैयाँ आन्तरिक आयबाट उठाउने योजना छ भने १ अर्ब १७ करोड २९ लाख १२ हजार रुपैयाँ प्रदेश तथा संघ सरकारबाट प्राप्त अनुदानबाट व्यहोर्ने लक्ष्य राखिएको छ ।

नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न नगरसभाको अधिवेशनमा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारले आर्थिक वर्ष २०८२/०८३ को लागि  बजेट प्रस्तुत गरेकी थिइन्। नगरसभाले उक्त बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।

विनियोजित बजेटमा सबैभन्दा धेरै खानेपानी तथा सरसफाइमा ४६ करोड २४ लाख ७३ हजार रहेको छ । त्यसमध्ये पनि जर्खु खानेपानी आयोजनामा २५ करोड बजेट विनियोजन गरिएको नगरपालिकाका खानेपानी फोकलपर्सन कैलाश चनाराले बताए । यो योजना शारदा नगरपालिका सबैभन्दा ठुलो योजना रहेको छ ।

यसैगरी शिक्षा, युवा तथा खेलकुदमा २५ करोड ८५ लाख विनियोजन गरिएको छ । यसमा शिक्षकको तलब, विद्यार्थीहरुका पाठ्यपुस्तक, छात्रवृत्ति, खाजा खर्च, तालिम लगायतका खर्च रहेको छ ।

कर्मचारी पारिश्रमिक तथा सुविधामा ७ करोड ४४ लाख, पदाधिकारी सेवा सुविधमा १ करोड ३० लाख, नगर प्रहरीमा १ करोड ५ लाख, स्वास्थ्य तथा पोषणमा ५ करोड ८९ लाख ३८ हजार, रोजगार परियोजना २ करोड ४४ लाख ३१ हजार, पूर्वाधार योजनामा १ करोड ६८ लाख, वडागत पुँजीगत ३ करोड, वडागत चालु ६९ लाख रहेको छ ।

यसैगरी कृषि विकासमा ५८ लाख २० हजार, पशु सेवामा ३७ लाख ५० हजार, महिला, बालबालिका तथा समाज कल्याणमा २० लाख विनियोजन गरिएको छ ।

यस्तै सहकारी संघसस्थामा १० लाख, वन तथा वातावरणमा ३५ लाख, विपद् व्यवस्थापनमा ३० लाख, सूचना प्रविधिमा ४० लाख, अध्ययन अनुसन्धानमा १० लाख, स्वास्थ्य उपचार कोषमा १५ लाख, मर्मत सम्भार कोषमा १० लाख, उपप्रमुख पोषण कोशेली कार्यक्रममा ५ लाख, कार्यालय सञ्चालनमा ५ करोड, सवारी साधन खरिदमा ५० लाख, भुक्तानी बाँकी परियोजनामा २० लाख र क्रमागत योजनामा ८७ लाख रुपैँया विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस