साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक शिक्षक विकास सम्बन्धी बैठक श्रीनगरमा सम्पन्न
सल्यान
प्रारम्भिक कक्षाका शिक्षकहरुलाई लक्षित गर्दै आयोजित शिक्षक पेशागत विकास कार्यक्रम सम्बन्धी प्रारम्भिक बैठक बुधबार सल्यान श्रीनगरमा सम्पन्न भएको छ।
“शिक्षित बालबालिकाबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ” भन्ने नारासहित साक्षरता कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा तथा दलित विकास समाज सल्यानद्वारा संचालित रुम टु रिड कार्यक्रमको सहयोगमा प्रारम्भिक तहका शिक्षकहरुलाई पेशागत सहायता प्रणालीको कार्यान्वयन, एकीकृत पाठ्यक्रम, बालमैत्री सिकाइ विधि लगायतका विषयमा छलफल गरिएको थियो।

बैठकमा शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख चोपलाल बेल्वासे सहित सल्यानका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रुम टु रिड का वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेल र कार्यक्रम अधिकृत तपेन्द्र वली, दलित विकास समाज सल्यान (डिडिएस)का कार्यक्रम संयाेजक उमेश खरेलले शिक्षक पेशागत विकास र सहायता प्रणालीसँग सम्बन्धित महत्वपूर्ण प्रस्तुतीकरण गरेका थिए।
बैठकमा सहभागी सरोकारवालाहरूले यस्ता कार्यक्रमले शिक्षकको क्षमता अभिवृद्धि मात्र नभई समग्र शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । साथै एकीकृत पाठ्यक्रममा आधारित शिक्षक पेशागत विकासमा काम गर्नेगरी सहभागी पालिकाका शिक्षा प्रतिनिधिहरुले कार्ययाेजना समेत बनाएका छन् ।