२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना न्यायाधीश विरुद्ध सात वटा उजुरी

काठमान्डौं, १२ असार । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना न्यायाधीश र एक जना न्याय परिषद् सदस्यविरुद्ध सात वटा उजुरी परेका छन् । सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसबारे जानकारी गराएको हो । बैठकमा बोल्दै समितिका सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल, शान्तिसिंह थापा र न्याय परिषद्को सदस्य पदमा प्रस्ताव गरिनु भएका महेशकुमार नेपालविरुद्ध सात जनाले उजुरी दिएका जानकारी दिनुभयो ।

सातै जना उजुरीकर्ताहरूलाई भोलिको समिति बैठकमा बोलाएर जानकारी लिने न्यौपानेले बताउनुभयो । त्यस्तै आउँदो आइतवारको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको उहाँको भनाइ रहेको छ । न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालमाथि पाँच वटा उजुरी परेका छन् । अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशमाथि परेका हुन् ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस