२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

सल्यानको पुर्ण विद्युतिकरण कार्यमा कडाइ, ठेक्का कम्पनीलाई अर्को म्याद नदिने निर्णय

सल्यान ।

सल्यान जिल्लामा पुर्ण विद्युतिकरण तथा विद्युत विस्तारको काम तोकिएको म्यादभित्रै सक्नुपर्ने कडाइ गरिएको छ। अब म्याद फेरि नथप्नेगरी निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिइएको छ ।

आइतबार जिल्ला समन्वय समिति सल्यानको पहलमा भएको छलफलमा सल्यानका दशवटै पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरणका निर्देशक र प्रमुख, महाशक्ति क्रिस्टल जेभीका प्रतिनिधि तथा पत्रकारहरूको समेत उपस्थितिमा निर्देशनात्मक निर्णय गरिएको हो ।

२०८० असोजमा महाशक्ति/क्रिस्टल जेभीसँग १३ करोड बराबरको ठेक्का सम्झौता भई १८ महिनाको म्याद सकिएपछि हाल २०८२ कार्तिक २९ गतेसम्म म्याद थप गरिएको काम तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिइएको छ।

सोमबारदेखि नै विद्युत प्राधिकरण र ठेकेदारको संयुक्त टोली फिल्डमा खटिनेछ भने पालिकाहरूले आवश्यक सहजीकरण गर्नेछन्।

त्यस्तै पुर्ण विद्युतिकरणले नसमेटेका कुमाख, दार्मा, बागचौर, सिद्ध कुमाख, शारदा, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका टोल, बस्ती र वडामा कर्णाली प्रदेश विद्युतिकरण आयोजना तुरुन्तै सुरु गरिने निर्णय भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा अपुरो रहेको सामुदायिक विद्युतिकरणको काम नेपाल विद्युत प्राधिकरणले तत्काल सम्पन्न गर्नेछ। त्यसैगरी पुर्ण र सामुदायिक विद्युतिकरणले नछोएका बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा पनि विद्युत विस्तार कार्य सुरु गरिनेछ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस