२०८२ चैत्र ८ गते आइतवार | 2026 March 22nd Sunday

आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन, जनै तथा रक्षाबन्धन बाँध्ने परम्परा

काठमाडौँ, २४ साउन । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी जनै तथा रक्षाबन्धन राखेर मन्त्र उच्चारण गरी सप्तऋषिहरुको स्तुति गरिन्छ ।

त्यसैगरी अन्य १०८ ऋषिहरूलाई सम्झेर वैदिक मन्त्रोच्चारण गर्दै तर्पण दिँदै यज्ञोपवीत (जनै) र रक्षा सूत्रको पूजा गरिन्छ । पूजा गर्दा तपाईँ देवता तथा ऋषिहरू हामीले गरेको पूजा र तर्पणबाट सन्तुष्ट हुनुहोस् र हाम्रो रक्षा गर्नुहोस् भनिन्छ । भविष्यपुराणका अनुसार–रक्षाबन्धनमा घरको बीचमा लिपपोत गरेर बेदी तयार गरी ४ दिशामा ४ कलशको स्थापना गर्नुपर्दछ ।

शुभ मुहूर्तमा गुरु पुरोहितको हातबाट मन्त्रपूर्वक रक्षाबन्धन बाँध्नु पर्दछ ।ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका मानिस (तागाधारी) ले प्रत्येक वर्ष आजकै दिन पुरानो लगाइरहेको जनै त्यागी नयाँ जनै लगाउनु पर्ने विधान शास्त्रमा उल्लेख गरिएका छ । आजको दिन पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ ।

जनै लगाइसकेपछि दैनिक गायत्री मन्त्र जप्ने, श्रावणी कर्म अर्थात उपकर्म गर्ने, देवता, पितृहरूलाई र ब्राह्मणहरूलाई जनै दान गर्नुपर्ने कुरा शास्त्रमा बताइएको छ । यस्तै जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : २०८२ साउन २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस