२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

बसपार्क चिरा परेको विषयमा शारदा नगरपालिकाले भन्यो- ‘निर्माण कम्पनीलाई मर्मत गर्न भनेका छौं’

सल्यान

सल्यानको श्रीनगर बसपार्क चिरा परेको विषयमा शारदा नगरपालिकाले आफ्नो ध्यानाकर्षण गरेको छ ।

शुक्रबार साँझ नगर प्रवक्ता राजेशकुमार शर्माले फेसबुकमार्फत एक सुचना जारी गर्दै चिरा परेको बसपार्क मर्मत गर्न निर्माण व्यवसायीलाई खबर गरेको बताएका छन् ।

बसपार्कको मर्मत २०८३ असार मसान्तसम्म निर्माण कम्पनीले नै गर्ने जिम्मेवारी लिएको र पालिकाको तर्फबाट एक हप्ता अगाडि नै निर्माण कम्पनीलाई खबर गरिसकेेको उनले बताएका छन् । तर उनले भनेजस्तै खबर गरेको एक हप्तामा पनि निर्माण कम्पनीले भने मर्मतको काम गरेको छैन । बसपार्क सँगै खैराबाङ मन्दिर जाने सडक पनि मर्मतका लागि निरन्तर प्रयास गरेको उनले बताएका छन् ।

निर्माण सकेको केही महिनामै बसपार्क संचालनमा नआउदै चिरा परेको भनेर शुक्रबार समाचार तथा भिडियोहरु प्रकाशन भएका थिए । त्यसपछि नगरपालिकाले त्यसमा ध्यानाकर्षण गरेको हो ।

कुल साढे ५ करोड निर्माण लागतको बसपार्क व्यापारिक सटर र दुईतले भवन बाहेक बसपार्क क्षेत्रको पिचको काम २ करोड भन्दा कममा भएको उनले उल्लेख गरेका छन् ।

९ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बसपार्कभित्र ठूला तथा मध्यम सवारी साधानका लागि ३२ वटा स्टल छन्। यसै गरी ५० वटा मोटरसाइकल राख्न मिल्ने स्टल छन्।

बसपार्क परिसरमा ३४ वटा व्यावसायिक सटर छन्। मध्यम तथा साना किसिमका व्यवसाय चलाउन थप ३५ कोठा छन्।

यो पनि : संचालनमा नआउँदै चिरा पर्यो श्रीनगर बसपार्क

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस