कर्मचारी मिलन केन्द्र सल्यानद्वारा प्रकाशित स्मारिका ‘सल्यान दर्पण’ विमोचन
सल्यान ।
कर्मचारी मिलन केन्द्र सल्यानद्वारा प्रकाशित सल्यान दर्पण नामक स्मारिका विमोचन गरिएको छ। कर्मचारी मिलन केन्द्र सल्यानको प्रकाशनमा तयार भएको उक्त स्मारिका एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र कुमार भन्डारीको अध्यक्षता, जिल्ला न्यायधिस प्रह्लाद कुमार योगिको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा मिलन केन्द्रका सल्लाहकारहरु एवं जिल्ला स्थित चारैवटा सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरू, पत्रकार लगायतको उपस्थिति थियो ।

सल्यानको इतिहास, कला, संस्कृति, प्रशासनिक विकास, विभिन्न सरकारी कार्यालयहरूको गतिविधि, जिल्लाको जैविक विविधता, जडीबुटीसम्बन्धी जानकारी तथा जिल्लाका साहित्यकारहरूको सिर्जनालाई एउटै पुस्तकमा समेटिएको स्मारिका जिल्लाको बहुआयामिक परिचय प्रस्तुत गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा रहेको प्रकाशकले जनाएको छ।
स्मारिकामा जिल्लाको ऐतिहासिक पृष्ठभूमिदेखि प्राकृतिक सम्पदा, स्थानीय संस्कृति, प्रशासनिक संरचना तथा विकासका विविध पक्षहरू समावेश गरिएका छन्। साथै जिल्लाका स्थापित तथा उदाउँदा साहित्यकारका कविता, लेख, संस्मरण, अनुसन्धानमूलक रचनालगायत सिर्जनात्मक सामग्री पनि समेटिएको छ।

स्मारिकामा कर्मचारी मिलन केन्द्रका प्रमुख संरक्षक एवं जिल्ला न्यायाधीश तथा संरक्षक प्रमुख जिल्ला अधिकारीका शुभकामना सन्देश प्रकाशित गरिएको छ। शुभकामना सन्देशमा कर्मचारीहरूबीचको आपसी सद्भाव, समन्वय र बौद्धिक गतिविधिलाई प्रवर्द्धन गर्न स्मारिकाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
स्मारिकामा २४ श्रष्ठाका फरक फरक विषय तथा साहित्यिक रचना समावेश छन् । स्मारिका प्रकाशन उपसमितिको संयोजक प्रमुख अनुसन्धान अधिकृत चन्द्र कमल खड्का तथा सदस्य सचिवमा डा. मित्र पाठक र सदस्यहरुमा इ. सुरज बिष्ट र रिता कुमारी चौधरी हुनुहुन्थ्यो ।
प्रकाशक कर्मचारी मिलन केन्द्र सल्यानका अनुसार स्मारिकाले जिल्लाको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै आगामी पुस्ताका लागि सन्दर्भ सामग्रीका रूपमा समेत उपयोगी हुने अपेक्षा गरिएको छ। साथै जिल्लाको मौलिक पहिचान, प्रशासनिक अनुभव र साहित्यिक सिर्जनालाई दस्तावेजीकरण गर्ने उद्देश्यले यस प्रकाशनलाई निरन्तरता दिइने जनाइएको छ।
