विद्युतकाे पोल, तार र ट्रान्सफर्मर जाेडेकाे ८ वर्ष पुग्दा पनि अझै गाउँमा बत्ती बल्न सकेन
सल्लिबजार (सल्यान)
सल्यानको बनगाड कुपिन्डे नगरपालिका–७ स्थित औल सङ्ग्रहीको रमचाउन र गैरिकटेरी गाउँमा पोल, तार र ट्रान्सफर्मर जडान भएको ८ वर्ष बितिसक्दा पनि स्थानीय बासिन्दा अझै अँध्यारोमा बस्न बाध्य छन्। गाउँको प्रवेशद्वारसम्म मुख्य शाखा लाइन तानेर ट्रान्सफर्मरसमेत चार्ज गरिसकिएको भए पनि स्थानीयका घरमा भने अझै बिजुली बलेको छैन।
साविकको घाजरीपिपल गाउँ विकास समिति–७ मा पर्ने रमचाउन टोलमा २०७६ साल वैशाखमै बिजुलीका पोल गाडेर पूर्वाधार तयार पारिएको थियो। पूर्व नगरप्रमुख गोविन्द पुन र वडा अध्यक्ष बिनय केसीको कार्यकाल तथा उनीहरुकै पहलमा सञ्चालित यो योजनाले लामो समय बितिसक्दा पनि सार्थकता पाउन सकेको छैन।
आफ्नो गाउँभन्दा पछि काम सुरु भएका छिमेकी बस्तीहरूमा बिजुली बलिसक्दा पनि आफूहरूलाई पछाडि पारिएको स्थानीयको भनाइ छ। रमचाउनका स्थानीय दोर्णा बस्नेतका अनुसार पछि योजना परेका ढोरपिपल, गाइदुवा र ५०० मिटर मात्रै दूरीमा रहेको वडा नम्बर ८ को चिसापानी बजारमा बिजुली बलिसकेको छ। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो बस्तीमा बत्ती बाल्न नसकिएको दाबी गर्दै उनले भने, “५०० मिटरसम्मको दूरीमा रहेको बजारमा बत्ती बल्ने, तर हाम्रो गाउँमा नबल्ने? यो राजनीतिक पूर्वाग्रहबाहेक अरू केही हुन सक्दैन।”
यस्तै दुर्दशा वडा नम्बर ७ कै गैरिकटेरी गाउँको पनि छ। त्यहाँ पनि पोल, तार र ट्रान्सफर्मर जडान गरिएको ६-७ वर्ष बितिसकेको छ, तर अहिलेसम्म बिजुली बलेको छैन।
विकासका पूर्वाधार तयार भएर पनि उज्यालोबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। पटक-पटक ध्यानाकर्षण गराउँदा पनि न त स्थानीय सरकारले सुनुवाइ गर्यो, न त प्रदेश सरकारले नै चासो देखायो। जनप्रतिनिधि र सरोकारवालाको उपेक्षा तथा राजनीतिक खिचातानीका कारण दुवै गाउँका बासिन्दा वर्षौंदेखि अँध्यारोमा जीवन बिताउन बाध्य छन्।
फाेटाे फाइल