२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

सल्यानका दृष्टिविहीन शिक्षकले सगरमाथा आरोहण गर्ने तयारी

सल्यानका एक दृष्टिविहीन शिक्षकले सगरमाथा आरोहण गर्ने भएका छन्। शारदा नगरपालिका– १ शीतलपाटीस्थित शिवजन माध्यमिक विद्यालयका शिक्षक राजेश आर्यालले सगरमाथा आरोहणको तयारी गरेका हुन्। अमेरिकाका दृष्टिविहीन एरिकले सन् २००१ मा सगरमाथाको सफल आरोहण गरेको खबर सुनेपछि आफूलाई पनि सगरमाथा आरोहण गर्ने हुटहुटी जागे पनि आर्थिक स्रोतको व्यवस्थापनलगायतका कारण सम्भव नभए पनि अहिले अनुकूल अवस्थाका कारण तयारी गुरु गरेको उनको भनाइ छ।

एक महिना हिमाल आरोहणका लागि ट्रेनिङ लिने र तत्पश्चात् कञ्चनजंघा हिमाल आरोहण गरेर वैशाखको पहिलो सातासम्म सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको अर्यालले बताए। ‘दृष्टिविहीन भएर पनि सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छु । धेरै वर्षदेखिको योजना अब साकार हुनेमा आशावादी छु। केही आर्थिक सहयोगसमेत जुटिसकेको छ,’ उनले भने। सगरमाथा चढ्न साहस र आत्मविश्वासले मात्र हुँदैन। आर्थिक स्रोतको पनि सुनिश्चितता हुन जरुरी छ । त्यसका लागि काठमाडौं गएर आर्थिक सहयोगका लागि तयारी गर्ने आर्यालको भनाइ छ। बिदाइ गर्दै शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र शारीरिक रूपमा अपांगता भएका व्यक्ति पनि अवसर पाए जस्तोसुकै चुनौतीको सामना गर्न सक्छन् भन्ने उदाहरण आर्यालले देखाएको बताए।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस