२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

नेपाली कांग्रेसका नेताहरुलाई सरकारी जग्गा कब्जा गरेको बताएपछि रा.स्व.पा. र कांग्रेसका नेताहरुबीच भनाभन

काठमान्डौं, २८ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नेपाली कांग्रेसका नेताहरूले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएपछि  कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच भनाभन भएको छ । 

आजको प्रतिनिधिसभाको  बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले काठमान्डौंको तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकको जग्गा कांग्रेसका नेताले मिचेको विषय उठाएपछि विवाद भएको हो । बैठकमा खनालले काठमान्डौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान अन्तर्गत पर्ने नेपाल सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको आरोप लगाउनुभयो ।

त्यसपछि शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले पनि त्यही जग्गाबारे बोल्दै कांग्रेस नेताले कब्जा गरेको बताएपछि कांग्रेसका सांसदहरू राजेन्द्र बजगाईं, राजन केसी, सचेतक सुशीला थिङ लगायतले कुर्सीबाट उठेर विरोध जनाउनु भएको थियो ।  

यसैबीच, सभामुख घिमिरले सांसदले राखेको विषय तथ्य र प्रमाण एवम सत्यतामा टेकेर राखिएको संसद्ले बुझ्ने भन्दै तत्काल रेकर्डबाटै हटाउन नसकिने तर यसलाई अध्ययन अनुसन्धान गरेर मात्र हटाउन सकिने भन्दै वादविवाद नगर्न आग्रह गर्नुभएको थियो । कांग्रेसका सांसदहरूले पार्टीलाई दोष नदिई जग्गा कब्जा गरेको भएमा व्यक्तिको नाम भन्न माग गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस