२०८३ असार २१ गते आइतवार | 2026 July 5th Sunday

१६ वर्षपछि पीएन क्याम्पसमा स्ववियु चुनाव हुँदै 

काठमाण्डौँ, १० चैत्र । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले १६ वर्षपछि नेतृत्व पाउँदैछ । यसअघि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा १० गतेका लागि तय गरिएको थियो । यसपटक पनि भाँडिने त होइन भन्ने आशंकाबीच आज आइतबार मतदान भएको छ । 

अहिलेसम्म उक्त क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाहेक अरूले जित्न सकेको छैन । अनेरास्ववियु आफ्नो विरासत जोगाउने होडमा छ भने अन्य संगठन र स्वतन्त्र उम्मेदवार अनेरास्ववियुको विरासत भत्काउने रणनीतिमा छन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पीएन क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् ।

यसपटक स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य) को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टीनिकट विद्यार्थीले साथ दिएका छन् । कास्कीमा नेकपा माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव विद्यार्थी चुनावमा पनि देखिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस