२०८३ साउन १५ गते शुक्रवार | 2026 July 31st Friday

सरकारले चालू आर्थिक वर्षको चैत मसान्तसम्म तीन खर्ब ६६ अर्ब बढी रुपैयाँ ऋण उठायो

काठमान्डौं, ६ वैशाख ।  सरकारले चालू आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म साढे तीन खर्ब रुपैयाँभन्दा बढी ऋण उठाएको छ । यस्तै साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको शुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकोमा चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्ममा सार्वजनिक ऋण जि.डि.पी.को अनुपातमा ४६ दशमलव ७५ प्रतिशत हुने गर्दछ । सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ र आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत रहेको छ । यसैबीच, चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धिले मात्र ७० अर्ब नौ करोड रुपौयाँ बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ । नेपालले वैदेशिक ऋण पाँचवटा विदेशी मुद्रा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येनमा लिने गर्दछ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस