सरकारद्धारा गभर्नर सिफारिश गर्नका लागि नयाँ समिति गठन
काठमान्डौं, १ जेठ । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजक रहने गरी नयाँ सिफारिश समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिश समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको हो । नयाँ समितिमा पूर्व गभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहनुभएको छ । यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामापछि सरकारले पाण्डेलाई समेटेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको व्यवस्थानुसार यसअघि गएको चैत ११ गते सरकारले गभर्नर सिफारिश समिति गठन गरेको थियो । एक महिनासम्म पनि बैठक नबसेको, छनोटमा समितिको भूमिका नरहेको भन्दै शुरूको समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिनुभएको थियो । त्यसपछि सरकारले भट्टराईको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको थियो । गएको चैत २५ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद खाली रहेको छ । कायम मुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई दिइएको छ ।