भारतको हैदराबादमा आगलागी, १७ जनाको ज्यान गयो
काठमान्डौं, ४ जेठ । भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज भवनमा विद्युत सर्किटका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको हो । अन्य १० जना घाइते भएका अग्नि विभागका अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी ए.एन.आई.ले जनाएको छ ।
सबै जनाको धूवाँमा निसासिएर ज्यान गएको र कसैलाई पनि जलनका चोटहरू नदेखिएको खबरमा उल्लेख गरिएको छ । आगलागीको समयमा भवनमा २१ जना मानिस रहेका थिए । भवनको पहिलो र दोस्रो तलामा जान एउटामात्र सिँढी भएकाले उद्धार कार्यमा निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाप्रति दुःख प्रकट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रुपैयाँ र घाइते भएकाहरूलाई ५० हजारको अनुदान घोषणा गर्नुभएको छ ।